प्रतिक्रान्तिलाई परास्त गर्दै सुदन गुरुङको पहलले खोलेको नयाँ राजनीतिक ढोका

समकालीन मुलुकको राजनीतिक अन्योल, अविश्वास र विभाजनको घडीमा सुदन गुरुङले देखाएको अग्रसरता केवल एउटा राजनीतिक पहल मात्र होइन, त्यो नेपाली लोकतान्त्रिक चेतनाको एउटा महत्त्वपूर्ण संकेत हो । समानुपातिक सूची बुझाउने जस्तो संवेदनशील र समयसापेक्ष विषयमा आ–आफ्ना पार्टी बैठकमा व्यस्त रहेका दुई प्रमुख नेता रवि लामिछाने र कुलमान घिसिङलाई एउटै टेबलमा ल्याउने प्रयास आफैंमा साहसिक र दूरदर्शी कदम बन्न पुग्यो । यसलाई कसैले जबरजस्तीको रूपमा व्याख्या गरे पनि वास्तविकता के हो भने राजनीतिक इतिहासमा ठूला परिवर्तनहरू प्रायः यस्तै दबाब, संवाद र समझदारीबाटै सम्भव भएका छन् ।
यदि बालेन, कुलमान र रविजस्ता नेताहरूको पूर्ण असहमति हुँदो हो भने कुनै पनि सम्झौता सम्भव हुँदैनथ्यो । त्यस अर्थमा, सुदन गुरुङको भूमिका उत्प्रेरकको थियो । जसले यो परिस्थिति सिर्जना गर्यो, संवादको ढोका खोल्यो र साझा भविष्यको सम्भावनालाई मूर्त रूप दिन सहयोग पुर्यायो । यस पहलले व्यक्तिगत आकांक्षा र पार्टीगत सीमाभन्दा माथि उठेर देशको व्यापक राजनीतिक आवश्यकता बुझ्ने परिपक्वता देखाएको छ ।
रास्वपाप्रति उठ्ने वैचारिक अस्पष्टताको प्रश्न नयाँ होइन । पार्टीको राजनीतिक लाइन, संघीयता र गणतन्त्रप्रतिको स्पष्टतामा देखिने हिचकिचाहटले धेरैलाई सशंकित बनाएको छ । सभापतिको व्यक्तिगत आचरणसँग जोडिएका विवादहरू अदालतको प्रक्रियामा छन् र त्यहाँबाटै टुंगो लाग्ला । तर राजनीतिक दलका रूपमा वैचारिक स्पष्टता दिनु पार्टीकै जिम्मेवारी हो । यही सन्दर्भमा बालेन शाह, कुलमान घिसिङ र जेनजी युवाहरूको प्रवेशले नयाँ ऊर्जा र स्पष्टताको अपेक्षा गर्नु अस्वाभाविक होइन ।
सम्झौतामा उल्लेख गरिएको बहुलवादी लोकतन्त्र भन्ने शब्द आफैंमा एउटा संकेत हो— यो व्यवस्थाप्रतिको प्रतिबद्धता हो, विविध विचार र असहमतिलाई स्वीकार गर्ने संस्कृतिप्रतिको संकेत हो । सुदन गुरुङको अग्रसरताले यही साझा न्यूनतम सहमतिलाई संस्थागत गर्ने प्रयास गरेको देखिन्छ । वर्तमान व्यवस्थाका विरोधीहरुले धमिलो पानीमा माछा मार्ने प्रयास गरे पनि अब त्यो रणनीति सफल हुन सक्दैन भन्ने बोध पनि यस पहलमा झल्किन्छ । युवाहरुले चाहेको व्यवस्था परिवर्तन होइन र जनाको अवस्था परिवर्तन नै मुलुकको आवश्यकता हो भन्ने कुरालाई यस बृहत् एकताले थप प्रमाणित गरेको छ ।
गत भदौ २३ र २४ गते आन्दोलन गर्ने जेनजी युवाहरुलाई केपी शर्मा ओलीहरुले आतंककारीको संज्ञा दिए पनि, प्रहरीले छानीछानी युवालाई कानुनी कारबाही चलाए पनि अब उनीहरुको तेजोबध गर्न कुनै पनि शक्तिले सक्दैन भन्ने पनि अब प्रमाणित भएको छ । जेनजीहरु राजनीतिक परिवर्तनका वाहक हुन् र उनीहरु न थाकेका छन् न त भागेका छन् । जेनजी युवाहरूको भूमिका यहाँ अझै निर्णायक र दबाबकारी बन्दै छ भन्ने पनि यस घटनाक्रमले प्रमाणित गरेको छ । फलस्वरुप प्रतिक्रान्ति गर्न खोज्नेहरुको दुःस्वप्न पनि चकनाचुर भएको छ ।
भदौ २४ गते रातिदेखि संविधान र व्यवस्थामाथि मडारिएको अन्योललाई चिर्दै उनीहरूले देखाएको साहस, सचेतना र शान्तिपूर्ण प्रतिवाद नेपाली लोकतन्त्रको बलियो आधार हो । डर र अनिश्चितताका बीच पनि उनीहरू सडकमा उत्रिनु, प्रश्न उठाउनु र आफ्नो मत राख्नु जागृत चेतनाको प्रमाण हो । यही चेतनालाई राजनीतिक संरचनाभित्र अर्थपूर्ण रूपमा समेट्नु आजको आवश्यकता हो ।
सुदन गुरुङको पहलले यही दिशातर्फ संकेत गर्छ— अस्पष्टतालाई स्पष्टतामा, विभाजनलाई सहकार्यमा र निराशालाई आशामा रूपान्तरण गर्ने प्रयास । यो पूर्ण समाधान होइन तर सही सुरुवात अवश्य हो । यस्तो सुरुवातलाई सह्राहना गर्नु, आलोचनासँगै रचनात्मक समर्थन दिनु नागरिकको जिम्मेवारी पनि हो । किनभने लोकतन्त्र व्यक्तिले होइन, प्रक्रियाले बलियो हुन्छ। र त्यो प्रक्रिया अघि बढाउन सुदन गुरुङजस्ता पहलकर्ताको भूमिका अमूल्य हुन्छ
